• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

आँखा पोल्ने, चिलाउने भइरहेको छ ? वायु प्रदूषणको असर हुनसक्छ, कसरी जोगाउने ?

  • 2024-04-16 11:27:52
काठमाडौं । काठमाडौंसहित विभिन्न सहरमा यतिखेर वायु प्रदूषण उच्च बनेको छ । वायु प्रदूषणको असर शरीरका बाहिरीदेखि भित्रैसम्मका संवेदनशील अंगमा पर्दछ । अहिलेको प्रदूषणका कारण आँखामा ‘एलर्जीक कन्जन्टीभाइटीस्’ भएर अस्पताल पुग्ने बिरामीको संख्या पछिल्ला दिनहरूमा बढेको छ । आँखा रातो हुने, चिलाउने, सुन्निनेजस्ता समस्या युवादेखि वृद्ध वृद्धाहरूसम्ममा देखिएको छ ।
काठमाडौंको वायु प्रदूषणको अवस्थाका आधारमा आँखा सधैँ जोखिममा रहन्छ । आँखामा संक्रमण विशेषगरी हावापानी र हातको माध्यमबाट हुनेगर्छ । डढेलोबाट निस्किएको धुवाँले गराएको प्रदूषण होस् या सवारी साधनबाट निस्कने खराब धुवाँका कारण हुने प्रदूषण दुवै आँखाका निम्ति अति हानिकारक हुन्छन् ।
पीएम (पर्टीकुलेट म्याटर, जसको आधारमा हावाको गुणस्तर मापन गरिन्छ) १०, २.५ को मात्रा अधिक भएको प्रदूषणले आँखामा पनि एलर्जीक कन्जन्टीभाइटीस् निम्त्याउँछ ।
प्रदूषणले सुक्खा र सामान्य दुवै आँखालाई असर पु¥याउँछ । खराब हावामा रहेका तत्वहरूलामो समयसम्म आँखामा रहँदा आँखालाई सफा गर्ने रसायनहरू कम उत्पादन हुन्छन् र आँखामा विभिन्न समस्याहरू देखिन्छन् ।
प्रदूषणले आँसुउत्पादन हुन नदिँदा आँखा थप सुक्खा बन्दैजान्छ ।त्यतिमात्रै नभइ आँखा चिलाउने, पाक्ने, रातो हुनेजस्ता समस्याहरू देखिन्छन् । आँखाको नानीमात्रै नभइ ढकनी र बाहिरी छालामा समेत सुन्निने, चिलाउनेजस्ता समस्या वायु प्रदूषणबाट नै निम्तिन्छन् ।
कसरी जोखाउने आँखा, संक्रमण भइहाले के गर्ने ? आँखा पोल्ने, पिरो हुने, चिलाउनेजस्ता संक्रमणका संक्रमणका सुरुआती लक्षणहरू हुन् । सामान्यतः बिरामी आँखा रातो भएपछि वा लक्षण देखिएपछि मात्रै चिकित्सकसम्म आइपुग्छन् । तर, आँखा रातो हुनु संक्रमण छिप्पिइसकेको अवस्था हो । त्यसैले आँखालाई संक्रमणबाट जोगाउनु अति आवश्यक हुनछ ।
वायु प्रदूषण उच्च भएको अहिलेजस्तो अवस्थामा सकेसम्म घरमै बसेर काम गर्नुपर्छ । बाहिर निस्कनैपरे ठूलो फ्रेम भएको चस्माको प्रयोग गर्नुपर्छ । दुईपांग्रे सवारी चलाउने व्यक्तिहरूलाई हावाको तीव्र वेगले झनै असर पुर्‍याउँछ ।
यसबाट जोगिन ठूलो फ्रेम भएको चस्मासहित चिउँडो छोप्नेगरी फुल हेल्मेट र भाइजर अनिवार्य लगाउनुपर्दछ । आँखामा समस्या देखिए पानी छ्याप्ने गर्नु हुँदैन, यसरी पानी छ्याप्दा एकछिन सञ्चो भएजस्तो भएपनि यसले आँखाको सुरक्षा गर्ने इन्जाइमहरूहटाउँछ । सामान्य धुलो परेको वा केही बिझेको भए हल्का ढंगले मुन्टो निहुराएर सफा पानीमा आँखा चोपल्न सकिन्छ तर,छ्याप्ने गल्ती गर्नु हुँदैन ।
आँखामा केही समस्या देखिए रसायन नभएका सामान्य साबुन, फेसवासले मुख धुनुपर्छ ताकी साबुनमा भएको रसायनले थप असर नपुर्‍याओस् । आँखामा कुनै समस्या देखिनेबित्तिकै आफ्नै हिसाबले फार्मेसीबाट औषधि किनेर लगाउने अत्यन्तै असुरक्षित बानी हो ।
चिकित्सकको सल्लाहबिना पनि प्रयोग गर्न मिल्ने औषधिहरूटियर सप्लिमेन्ट मात्रै हुन् । यीबाहेक आँखामा के कारणले कस्तोखाले संक्रमण भयो भन्ने थाहा नपाइ औषधि लगाउँदा त्यसले दीर्घकालीन असर पुर्‍याउन सक्छ । यस्तो अवस्थामा नजिकैको आँखा स्वास्थ्य केन्द्रमा पुगेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्नुपर्छ ।
(तिलगंगाआँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ तथा रिफ्राक्टिभ लेजर सर्जन डा. कौशल पोख्रेलसँगको कुराकानीमा अधारित)