• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

मधुमेह उपचार ढिलाइले गुम्न सक्छ दृष्टि

  • 2021-12-06 06:29:54

तपाईं ४० वर्ष कटिसक्नुभएको छ? योभन्दा पहिला नै मधुमेह लागिसकेको छ? होसियार रहनुहोस्,मधुमेहले सुटुक्कै तपाईंका आँखाको दृष्टि गुम्न सक्छ। त्यसैले बेलैमा मधुमेह र आँखाको जाँच गर्नुहोस्।

कतिपयले मधुमेह भएको थाहा नपाई वा थाहा भएर पनि उपचारका लागि ढिलो पुग्दा आँखाको दृष्टि गुमाएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ।

तिलगंगाले नेपालमा मधुमेहले आँखाको दृष्टि गुमाउनेहरू बढिरहेको भन्दै चिन्तासमेत प्रकट गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा पछिल्लो समयमा नेपालमा बढ्दै आधुनिक जीवनशैलीसँगै मधुमेहका रोगीको संख्या बढेको र मधुमेहका कारण आँखाको दृष्टि गुम्ने क्रम बढेको डा. रबा थापाले औंल्याइन्।

सन् २०१५ मा भक्तपुर रेटिना स्टडीको तथ्यांकअनुसार ६० वर्षमाथिका ९ प्रतिशतमा र ४० वर्ष माथिका ५ प्रतिशतमा मधुमेह भएको पाइएको छ। तथ्यांकअनुसार २० देखि ७९ वर्षको उमेर समूहमा विश्वका ९.२ प्रतिशतमा मधुमेहको समस्या छ।

नेपाल तथा विश्वमा मधुमेहको संख्या २५ वर्षको अवधिमा तीन गुणाले बढेसँगै मधुमेहका कारण आँखाको पर्दामा आउने समस्या (डाइबेटिक रेटिनोप्याथी) मधुमेहका रोगीमध्येमा एक तिहाइमा हुने गरेको छ।

विश्वका कुल मधुमेहका रोगीमध्ये ८० प्रतिशत नेपालजस्तै अल्पविकसित राष्ट्रका मात्र हुने गरेको छ। विश्वको कुल अन्धोपनामध्ये ४.८ प्रतिशत मधुमेहका कारणले हुने गरेको छ। अन्तर्राष्ट्रिय मधुमेह संघकाअनुसार विश्वमा ४६ करोड ३० लाख मानिसमाम धुमेहबाट ग्रसित छन्।

मधुमेहका तीन रोगीमध्ये  एकजनाले कुनै न कुनै तहको आँखाको दृष्टिमा क्षति बेहोर्नुपर्छ। यो संख्या २५ वर्षमा तीन गुणाले बढेको हो। तथ्यांकअनुसार सन् २००० मा डाइबेटिक रेटिनोप्याथीको समस्या ४.२ प्रतिशतमा थियो भने हाल बढेर ९.२ प्रतिशत पुगेको छ।

चिकित्सकका अनुसार डाइबेटिक रेटिनोप्याथी मधुमेहले आँखामा पुर्‍याउने असर मधुमेहको प्रमुख जटिल समस्या मध्येमा पर्छ। सबै प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखामा असर परिसकेको हुन्छ।

नेपालमा डाइबेटिक रेटिनोप्याथिक उपचार सेवाको पहुँच कम भएकाले समयमै उपचार अभावमा मधुमेहका बिरामीले आँखाको ज्योति गुमाउनुपरेको अवस्था छ।

मधुमेहले कतिपयमा कुनै लक्षण नदेखिने हुनाले प्रभावित उपचारमा ढिला पुग्ने क्रममा पनि आँखाको दृष्टिमा क्षति पुग्ने गरेको चिकित्सक बताउँछन्।२० वर्षभित्र हुने टाइप वान मधुमेह र ३० वर्षमाथि हुने टाइप टु मधुमेह भए आँखामा मधुमेहले असर गर्छ।

मधुमहेले आँखामा हुने हानिबाट बच्न हरेकले समयमै मधुमेहको पहिचान गरी आँखा परीक्षण गराइहाल्नुपर्छ। आँखामा अन्य कारणले हुने दृष्टि समस्या एकपटक उपचार गरिसकेपछि निको हुन सक्छ। तर, मधुमेह नियन्त्रण नभए पुनः आँखामा कुनै पनि समय असर पर्न सक्ने भएकाले मधुमेहलाई नियन्त्रमा राख्ने र समयसमयमा आँखाको परीक्षण गर्नु मुख्य उपाय रहेको डा. थापाले बताइन्।

नेपालमा अहिले पनि मधुमेह पहिचान हुनेबित्तिकै आँखा परीक्षणमा नपुग्नु र समयमै मधुमेहको पहिचान नहुनुले मधुमेहका कारण आँखाको दृष्टि गुमाउनेको संख्या बढी भएको डा.थापाको भनाइ छ।

मधुमेहले आँखामा अन्धोपना बढ्ने समस्या बढ्दै गएपछि तिलगंगा आँखा प्रतिष्ठानले सन् २०१४ देखि मधुमेहबारे जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। मधुमेहको पहिचान गर्ने अस्पताल तथा स्वास्थ्य केन्द्रहरूले मधुमेहको मात्र उपचार नगरी आँखा परीक्षणमा पठाउने गर्नाले मधुमेहले आँखाको दृष्टि गुम्ने समस्या कम गर्न सकिने उनीहरूको सुझाव छ।

मधुमेह भइसकेपछि बिरामीका आँखा, मुटु, खुट्टा र मिर्गौलामा हुने असरबाट बचाउन सबै विशेषज्ञको  भूमिकाबाट मात्र बढी क्षति हुनबाट बचाउन सकिने चिकित्सक बताउँछन्। ‘इन्डोक्राइनोलोजिस्ट, फिजिसियन, जहाँ पहिलोपटक मधुमेहको पहिचान हुन्छ, उनीहरूले समयमै आँखासहितका अन्य उपचारमा पठाउनु आवश्यक छ,’ डा. थापाले भनिन्।

मधुमेहले आँखामा हुने असरबाट बचाउन तिलगंगा आँखा प्रतिष्ठानले सन् २०१४ देखि नै मधुमेह सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ भने पहिलोपटक मधुमेहका पहिचान हुने स्वास्थ्य केन्द्रहरूमा सँगै आँखाको परिक्षण गर्ने व्यवस्था गरेको छ। साथै सबै आँखा अस्पतालमा डाइबेटिक रेटिनोप्याथी उपचारको पहुँच बढाउन पहल गरिरहेको प्रतिष्ठानले जनाएको छ।

मधुमेह भइसकेपछि आँखा मात्र नभई शरीरका अन्य अंग मिर्गौला, खुट्टाको रक्तनली, मुटुमा समेत असर पर्ने उच्च जोखिम भएकाले सकेसम्म मधुमेहबाट बच्ने गरी जीवनशैली अपनाई शरीरका मुख्य अंग बचाउन सकिने चिकित्सकको सुझाव छ।

यसका लागि टाइप वान मधुमेहको समयमै परीक्षण गरी मधुमेह नियन्त्रणमा राख्ने, दुवै खालका मधुमेह नियन्त्रणमा राख्ने,आँखाको परीक्षण गर्ने, टाइप टु मधुमेह हुन नदिन हरेक व्यक्तिले नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, तनावरहित जीवनशैली अपनाउने,खानामा चिल्लो, गुलियो, बोसोयुक्त खानाको कम प्रयोग गर्ने, हरियो सागपात,फलफूल, खानामा भात तथा मैदा, आलुजस्ता कार्बोहाइडेटयुक्त खाने कुराको कम प्रयोग गर्ने र खानाको अनुपातमा व्यायाम गरे मधुमेह लाग्नबाट बच्न सकिने चिकित्सकहरूको सुझाव छ।

मधुमेहका कारण आँखाको भित्री पर्दाको नसाहरूमा ग्लुकोजको मात्रा बढी भएर नसा सुन्निने,नसा फुटेर चिल्लो पदार्थ बाहिर निस्कने, रगत बग्ने भई आँखाको दृष्टि गुम्छ। मधुेमह समयमै पहिचान नहुँदा आँखाको भित्री पर्दामा मधुमेहले धेरै असर पुगेर पुरै दृष्टि गुम्ने जोखिम हुन्छ। तर, समयमै पहिचान भई उपचारमा पुगे आँखामा पुग्ने क्षतिबाट बच्न सकिने चिकित्सक बताउँछन्। यो वर्षको विश्व मधुमेह दिवसको ‘सबैको पहुँचमा मधुमेह उपचार सेवा’ भन्ने नाराका साथ विश्वभरि मनाइएको छ।

मधुमेहले आँखामा पार्ने असर,लक्षण र बच्ने उपाय

मधुमेहले मुख्यतः आँखाको पर्दाको रक्तसञ्चारमा असर पार्छ। मधुमेह नियन्त्रण नभए रगतमा ग्लुकोजको मात्रा बढ्न गई रेटिनाको रक्तनलीमा असर गर्छ।

पर्दाको दृष्टिकेन्द्र सुन्निने,समयमै उपचार नभए अनावश्यक रक्तनलीको विकास भई दृष्टि सदाका लागि गुम्ने हुन्छ। रेटिनामा असर भए पनि व्यक्तिमा हुने असर नपर्ने हुनाले कतिपयमा दृष्टि नै बन्द भएपछि मात्र लक्षण देखिन सक्छ। पटकपटक आँखामा आनो आउनु, छिटोछिटो चस्माको पावर परिवर्तन हुनु, मोतीबिन्दु छिटो देखापर्नु मधुमेहले आँखामा पार्ने असरका लक्षण हुन्।

त्यस्तै जलबिन्दुको सम्भावना बढ्नु,आँखाको भित्री पर्दामा असर पुग्नु,आँखाको नसाको पक्षाघात हुनुलगायत असर पनि मधुमेहले आँखामा पार्ने गर्छ। घाममा हेर्न गाह्रो हुनु, थकान महसुस हुनु, पटकपटक पिसाब लाग्नु, पटकपटक दृष्टि क्षमतामा ह्रास आउनु पनि यसका लक्षण हुन्।मधुमेहका कारण हुने अन्धोपनाबाट बच्न त्यस रोगलाई नियन्त्रणमा राख्नुपर्छ। मधुमेहका रोगीले वर्षमा कम्तीमा आफ्नो आँखा जाँच गराउनुपर्छ। धूमपान गर्नुहुँदैन। आँखामा असर परिसकेको अवस्थामा नियमित नेत्ररोग विशेषज्ञसँग उपचार गराउनुपर्छ।