• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

आर्यघाटमै गरिन्छ आँखादान, स्वास्थ्यकर्मीको एउटा समुह नै खटिन्छ मृतकका आफन्तलाई सम्झाउन

  • 2023-04-26 16:14:56

कमला भुसाल–
काठमाडौं– केही दिन अघिको मध्यान्हमा पशुपतिनाथ क्षेत्रको विद्युतीय शवदाह गृहबाट केही महिलाहरु चिच्याई चिच्याई रोइरहेको आवाज आइरहेको थियो । शवदाह गृहको परिसरमा तीन वटा पार्थिक शरीर राखिएको थियो । आफन्त गुमाएको वियोगमा ती महिलाहरु विच्छिप्त बनेका थिए । मलामी आएका आफन्तहरुमध्ये कोही आँखाका डिलमा टिलपिटिलपिल आँसु लिएर बसेका थिए त कोहि एक–अर्कालाई शान्त्वना दिने प्रयास गरिरहेका थिए । त्यो दृष्य नियाल्ने हरेकको मन भक्कानिएको थियो ।

शवदाह नजिकै स्वास्थ्यकर्मीहरुको एउटा समुह पनि थियो । उनीहरु त्यहाँ मेडिकल रिपोर्ट हेर्दै थिए, के कारणले ती व्यक्तिको मृत्यु भएको भन्ने कुरा सोधिँदै थियो । र त्यहीँ नजिकै एउटा कोठाको ढोकामा ‘आँखादान महादान’ लेखेर टाँसिएको देखिन्छ । पार्थिक शरीरको अन्त्येष्टि गरिने पवित्र ठाउँमा आँखादाना महादान लेखिएको देख्नेहरु अचम्म मानिरहेको देखिन्छ । शवदाह गृहमा आँखादान गर्न प्रेरित गरिएको सन्देश थियो त्यो ।

कलाकर्मी संवाददाताले उक्त सन्देशलाई पछ्याउने क्रममा तीलगंगा आँखा प्रतिष्ठानले आँखादान सम्बन्धि अभियान चलाएको जानकारी प्राप्त भयो । यदि दाताले आँखादान गर्न राजी भएको अवस्थामा आँखाको नानी झिक्नका लागि स्वास्थ्यकर्मीको समुह नै खटेको पाइयो ।

प्रतिष्ठानले उक्त अभियानका लागि आर्यघाटमा पनि स्वास्थ्यकर्मीहरुको एउटा समुह परिचालन गरेको छ । उक्त समुहले मानिसको पार्थिव शरीर आर्यघाट ल्याइ पुर्याउनसाथ आँखादान सम्बन्धि नागरिकलाई सचेत गराउने तथा दान दिन स्विकृत भएको खण्डमा पार्थिव शरीरबाट झिक्ने गरेका छन् ।

नेपालका दृष्टिविहिनलाई नयाँ जीवन दिन तथा उनीहरुको जीवनमा उज्यालोपन छर्ने उद्देश्यका साथ वि.सं.२०५४ सालदेखि आर्यघाट लगायतका विभिन्न घाटहरुबाट आँखा दानको अभियान तथा नानी संकलन गरिँदै आएको प्रतिष्ठानले जनाएको छ ।

पशुपति, आर्यघाटबाट मात्रै प्रतिष्ठानले मासिक २० देखि ३० को हाराहारीमा दाताबाट आँखा संकलन गर्ने गरेको पशुपति कल सेन्टरका प्रमुख तथा प्रतिष्ठानका कर्मचारी सुन्दर महतले बताए ।

जीवित प्राणीको सबैभन्दा महत्वपूर्ण अंग हो आँखा । हुन त शरीरका सबै अंग उत्तिकै महत्वपूर्ण हुन्छन्, तर आँखाकै कारण हामी बाहिरी संसार देख्न सकिने भएका कारण यो अंग एकदमै महत्वपूर्ण मानिन्छ । वास्तवमा आँखा बिनाको संसार नै अन्धकार हुन्छ ।

काठमाडौं उपत्यकाका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, ओम अस्पताल, वीर अस्पताल तथा पशुपति, आर्यघाट तथा विद्युतीय शवदाह गृह, पशुपतिबाट आँखाको नानी संकलर्न गरिन्छ । पाँच वटा कल सेन्टरमध्ये पशुपतिनाथबाट सबैभन्दा बढी नानी संकलन हुने उनको भनाई छ ।

आर्यघाटमा आँखा दान सम्बन्धि सञ्चालन गरिएको अभियानबाट गराइएको सचेतनाका आधारमा दाताहरु पाइने गरेका छन् । विगतको तुलनामा भन्दा पछिल्लो समय मानिसमा चेतनामा वृद्धि भए पनि वृहत रुपमा मानिस अझै सचत हुन जरुरी रहेको उनको भनाई छ ।

नेपालमा वर्षेनी आँखाका बिरामीहरु ठूलो संख्यामा थपिइरहेको छ । नेपालमा गरिएको एक अन्धोपन सर्वेक्षणले प्रति सय जना व्यक्तिमध्ये करिव एक जनामा दृष्टिविहिनको समस्या देखिने गरेको नेपाल आँखा बैंक, तिलगंगा आँखा प्रतिष्ठानका आँखा बैंक म्यानेजर शंखनारायण त्वायना बताउँछन् ।

 

नेपाल विकासोन्मुख कृषि प्रधान देश भएका कारण ९० प्रतिशत मानिस कृषि पेशामा निर्भर रहेको देखिन्छ । गाउँ तथा पहाडी इलाकामा मानिसहरु जीविकोपार्जन तथा उनीहरुको दैनिकी नै वन जंगल, दाउरा घाँस, मेलापात र धुलो–माटोसँगै बित्छ । यसरी कृषिमै काम गर्ने क्रममा आँखामा लाग्ने सानो वा ठूलो चोटलाई त्यति ध्यान दिँदैनन् । आँखाको चोटलाई सामान्य रुपमा लिइने र समयमा उपचारका पद्धति नअपनाउँदा भविष्यमा गएर आँखा गुमाउनु पर्ने समस्या बढी हुने गरेको समेत उनी बताउँछन् ।

आँखाको समस्या यतिले मात्रै नभएर धेरै व्यक्तिमा आँखा पाक्ने, दादुरा, टाइफाईड, बिफर तथा कुपोषण आदिका कारण पनि आँखाको नानीमा समस्या हुने गरेको उनले बताए । आँखा बैंक म्यानेजर त्वोयनाका अनुसार आँखाको नानीको खराबीका कारण दृष्टिविहिनको समस्या हुनेमा धेरैजसो बालबालिका र युवाहरु रहेको उनको भनाई छ ।

अधिकांश आँखाका बिरामीहरुमा सबैभन्दा बढी कारण मोतिविन्दु रहेको छ भने अर्को कारण आँखाको नानीमै समस्या रहेको पाइएको छ । अन्य कारण रेटिनामा समस्या, जलविन्दु लगायतका समस्याका कारण अन्धोपन बढेको उनले बताए । उनी भन्छन्– ‘नेपालमा गरिएको सर्वेक्षण र आँखा रोग विशेषज्ञका अनुसार वार्षिक सात हजार आँखाको नानी आवश्यक रहेको देखिन्छ ।’

चेतनाको विकाससँगै नानी प्रत्यारोपणमा आत्मनिर्भर बन्दै नेपाल

पछिल्लो समय अंगदान अर्थात आँखा दानमा मानिसको चेतना बढ्दै गएको आँखा बैक म्यानेजर त्वोयनाले बताए । नेपालमा विशेषगरी सन् १९९४ मा आँखा बैंक स्थापना भएको थियो । आँखा बैंक स्थापना गर्दा जम्मा एक जना दाताबाट बैंकलाई दुई वटा नानी प्राप्त भएको थियो । उनी भन्छन् – ‘एक जना दाताले आँखा दान गर्न सके चार जना दृष्टिविहिनले नयाँ जिन्दगी पाउँछन् ।’

बैंक स्थापना भएको पाँच वर्ष अर्थात सन् १९९९ सम्म जनमानसमा चेतनाको अभाव थियो । विगतको तुलनामा अहिले भने मानिसमा आँखा दान दिनुपर्छ भन्ने चेतनाको विकास भएको उनको भनाई छ ।

‘१९९९ सम्म हामीले मानविय सहयोगका रुपमा विदेशका विभिन्न मुलुकबाट नानी सहयोग लिएका थियौँ । अहिले हामी परनिर्भर हुने बाध्यताबाट मुक्त भएका छौं,’ उनी भन्छन् ।

आँखा दान अर्थात नानी दान मानिसको मृत्युपरान्त मात्रै हुन्छ । ‘आँखामा रक्त सञ्चार नहुने भएका कारण अन्य अंग लिन जस्तो अफ्ठारो नहुने भएका कारण जसको जसलाई पनि दान गर्न सकिन्छ,’ उनी भन्छन्– ‘आँखाको नानी प्रत्यारोपण गर्न टिस्यु म्याच हुन् पर्दैन ।’

उनका अनुसार अहिले देशभरबाट वार्षिक रुपमा १२ सय देखि १५ सयको हाराहारीमा नानी संकलन हुने गरेको छ । देशभरबाट संकलन भएका नानीको प्रशोधन तिलगंगा आँखा प्रतिष्ठानले नै गर्ने गरेको छ ।

आँखाको नानीका कारण दृष्टिविहिन भएका व्यक्तिहरुका लागि मेडिकल साइन्सले अहिलेसम्म कृत्रिम नानी बनाउन नसकेको भन्दै जसले गर्दा नानीका कारण दृष्टिविहिन भएका व्यक्तिहरुलाई आँखा देखाउन नानी नै चाहिने उनको भनाई छ ।

मानिसको मृत्युपछि जलेर वा नष्ट भएर जाने एक जनाको आँखाले चार जना व्यक्तिले संसार देख्न पाउँछन् । विगतको तुलनामा पछिल्लो समय चेतनाको विकास भए पनि अझै पर्याप्त रुपले आँखा पाउन नसकिएको उनी बताउँछन् ।

नेपालमा वार्षिक हजारौंको संख्या आँखाको नानीको माग हुने गरेको भन्दै माग अनुसार अझै पनि आपूर्ती गर्न नसकिएको अवस्था रहेको उनको भनाई छ । ‘हामीले आँखाको नानी तीन किसिमले प्रिजभ गर्छौँ । एउटा सर्ट टर्म, जसलाई चार दिनसम्म राख्न सक्छौँ । त्यस्तै अर्को मिड टर्ममा १४ दिन र लङ टर्ममा एक महिनासम्म राख्न सकिन्छ,’ उनी भन्छन्– ‘तर हामीकहाँ एक महिना त कुरै छाडौँ, एक हप्ता पनि रहन मुस्किल पर्छ ।’

वार्षिक एक हजार बढी नानी प्रत्यारोपण

नेपाल आँखा बैंकले वार्षिक एक हजार बढी आँखाको नानी प्रत्यारोपण गर्न सफल भएको छ । बैंकले आँखा दानसम्बन्धि चेतना फैलाउन नेपाल आँखादान समाजको स्थापना गरी देशभरका विभिन्न ठाउँबाट आँखाको नानी संकलन तथा मरणेपरान्त आँखाको नानी दान गर्न चाहनेले जीवित छँदैमा इच्छापत्रको फारम समेत भराउँदै आएको छ ।

पूर्व मेची नेत्रालय, बिराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, सिद्धार्थ आँखा अस्पताल, दिव्य दृष्टि, भरतपुर आँखा अस्पताल, पोखरा आँखा अस्पताल, गेटा आँखा अस्पताललाई नानी संंकलन गरी प्रत्यारोपण गर्न योग्य आँखा पठाइने बैंक म्यानेजर त्वोयनाले बताए ।

आँखा दान गर्ने इच्छापत्र एक लाखको नजिक

नेपाल आँखा बैंक स्थापना भएदेखि हालसम्म करिब एक लाखको हाराहारीमा मरणोपरान्त आँखा दान गर्ने इच्छापत्रको फारम भरिएको छ । हालसम्मको तथ्यांक अनुसार ८० हजारभन्दा बढीले मृत्यु पश्चात् आँखा दान गर्ने इच्छापत्र दिइसकेको आँखा बैंक म्यानेजर त्वोयनाले बताए ।

उनका अनुसार पछिल्लो समय आँखाको नानी दान गर्न गराउनमा मानिसहरु सचेत भएको पाइन्छ । ‘अहिलेको अवस्थामा आँखा दान गर्न गराउन परामर्श गर्ने क्रममा १०० जना मृतक परिवारलाई आँखादान परामर्श गर्दा ६२ प्रतिशतले मृतकको परिवारबाट आँखादानको लागि स्विकृत दिएको पाइएको छ ।’

यद्यपि, आँखादान इच्छा जाहेर गरर आँखादान इच्छापत्र भरेकाहरुबाट मृत्युपछि आँखादान गर्नेको संख्या भने कम नै पाइएको उनले बताए ।

वार्षिक ४० हजार बिरामीको शल्याक्रिया

नेपालमा आँखाका बिरामीको संख्या अत्यधिक रहेको छ । आधिकारिक तथ्यांक अनुसार नेपालमा अनुमानित २७ प्रतिशत नेपालीहरुमा आँखाका केही न केही समस्या रहेको छ ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानमा २०२२ मा जम्मा ६ लाख जनाको आँखाको उपचार गरिएकोमा ५० प्रतिशत भन्दा बढी बाह्य कायक्रम मार्फत काठमाडौं बाहिरका शाखाहरुबाट गरिएको छ भने ५० प्रतिशत जति काठमाडौंमा अवस्थित प्रतिष्ठानमा गरिएको छ । वार्षिक रुपमा ४० हजारको हाराहारीमा आँखाको शल्यक्रिया हुने गरेको तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम निर्देशक नविन कुमार राई बताउँछन् ।

आँखा बैंक म्यानेजर शंखनारायण त्वोयनाका अनुसार नेपाल भर वार्षिक रुपमा एक हजार दुई सय आँखा प्रत्यारोपण हुने गरेका छन् । आम जनमानसमा पूर्ण रुपले आँखा दान सम्बन्धि चेतना हुन सके जति पनि आँखा गमाउने अवस्थामा रहेका र गुमाइसकेका बिरामी अँध्यारो जीवनबाट मुक्त हुन पाउने उनको भनाई छ । त्यसैगरी सरकारले स्थानीय तहदेखिनै आँखा दान तथा अंग दानसम्बन्धि चेतना बढाउन पहल गर्नुपर्ने उनको भनाई छ ।