• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

स्वास्थ्यमा महिलाको पहुँच

  • 2023-03-10 13:21:43

८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस बुधबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । अधिकांश कार्यक्रम महिला अधिकार, सम्पत्तिमाथि महिलाको पहुँच, राजनीतिक तहमा महिलाको उपस्थितिलगायतका विषयमा केन्द्रित भए ।

महिलाका अधिकारका विषयमा धेरै कुरा भए । काम पनि क्रमशः हुँदै गएको स्थिति छ । तर, अधिकारसँगै अर्को महत्वपूर्ण स्वास्थ्यका विषयमा कममात्र बहस र छलफल हुने गरेको छ । यसपटक पनि महिला स्वास्थ्यसँग सम्बन्धित थोरै कार्यक्रमहरू भएको देखियो ।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा रहेको यसपटकको नारी दिवसले नयाँ सिर्जना र प्रविधिको पहुँच कसरी विस्तार गर्दैछ भन्ने विषयमा राज्यले कुनै नयाँ कुरा दिएको पाइन्न । परम्परा धान्ने खालका प्रभातफेरी, तामझामका साथ सडकमा उत्रिएर नारी दिवस मनाउनु बाहेकका कार्यक्रमहरू सरकार र संघसंस्थाले गरेको पाइएन ।

 

थोरै कार्यक्रममध्ये ११३औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानद्वारा आयोजित महिलामैत्री आँखा सेवासम्बन्धी अन्तत्र्रिmया महत्वपूर्ण देखिन्छ । नेपालमा दृष्टि क्षमता कम भएका मानिसमध्ये ५५ प्रतिशत महिलाको संख्या छ । विभिन्न कारणले आँखा सेवामा महिलाको पहुँच कम भएकाले आँखा स्वास्थ्य सेवामा महिलाको पहुँच बढाऔं भन्ने विषयतर्फ उक्त कार्यक्रममा जोड दिइएको थियो । सन् १८८१ बाट आँखा स्वास्थ्यका क्षेत्रमा अनुसन्धान शुरू भएको र सन् २०१० सम्म आइपुग्दा महिलाले स्वास्थ्य सेवा लिने ठाउँमा आर्थिक, सामाजिक, पारिवारिक, धार्मिक, भौगोलिकलगायत बाधाका कारण आफ्नो स्वास्थ्यको निर्णय गर्ने अधिकार स्थापित अझै नभएको देखियो ।

यस अध्ययनपश्चात् महिला अधिकार, सम्पत्तिमाथि महिलाको पहुँच, राजनीतिक तहमा महिलाको उपस्थितिमा मात्र सीमित नभएर महिलाको स्वास्थ्य पनि महत्वपूर्ण विषय हो त्यसतर्फ ध्यान जानुपर्छ भन्ने कुरामा जोड दिएको छ ।

महिलाको दक्षता, सीप तथा कामको मूल्याङ्कनसँगै स्वास्थ्यलाई पनि जोड दिँदै नीति नियम बनाएर कार्यान्वयनमा जोड दिनुपर्ने अध्ययनबाट देखिएको छ । सन् २०१० मा नेपालका १६ वटा आँखा अस्पतालमा गरिएको अनुसन्धानमा महिलामा ५२ प्रतिशत र पुरुषमा ४८ प्रतिशत समस्या थियो । समग्र हेर्दा महिलाको आँखा स्वास्थ्यमा हुनुपर्ने जति सुधार भएको छैन । जनचेतनाका साथै आर्थिक रूपमा समस्या भएकै कारण आफ्नो स्वास्थ्य उपचारका लागि पुरुषको निर्णयमा निर्भर हुनुपर्ने अवस्था निकै गम्भीर अवस्थामा छ । सहजताका लागि महिलाको आर्थिक उपार्जनमा जोड दिनु नै उत्तम उपाय हो । विश्वको तथ्यांकलाई हेर्दा ५५ प्रतिशत महिलामा आँखा स्वास्थ्य समस्या अझै जटिल अवस्थामा छ । यतातर्फ विश्वको ध्यान पुगोस् भन्ने विषयमा अन्तरक्रियाको निचोड थियो । यसतर्फ सरकारको मात्र होइन नारीको नाममा डलरखेती गर्दै आएका संघसंस्थाको समेत आँखा खुल्न आवश्यक देखिन्छ ।

देशमा जुनसुकै व्यवस्था आए पनि महिलाको स्वास्थ्यमा पहँुच पुगेको छैन । त्यसको संकेत निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरूकै उपस्थिति बढी हुन्छ । पुरुषले हरेक क्षेत्रमा प्राथमिकता पाउँछन् र आर्थिक रूपमा पनि पुरुष नै अधिकार सम्पन्न हुने भएकै कारण पुरुषलाई रोग लाग्दा अस्पताल जान्छन् भने महिला गम्भीर अवस्थामा पुग्दासम्म पनि धामी, झाँक्री र निःशुल्क उपचार गरिने स्वास्थ्य चौकी तथा स्वास्थ्य शिविरमा सीमित गरिन्छ । जसलाई तिलगंगाको अध्ययनले पनि प्रष्ट पारेको छ । उक्त अध्ययनमा महिलालाई आँखा उपचारमा शिविर प्रभावकारी तथा घरमैत्री देखिएको छ । निष्कर्षमा भन्नुभन्दा महिलाको अधिकार र महिलामैत्री समाज निर्माणका लागि आर्थिक, राजनीतिक, शैक्षिक क्षेत्रसँगै स्वास्थ्य क्षेत्रलाई पनि महत्व दिनुपर्छ भन्ने हो ।