• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

दुर्गमका शिविरदेखि ७० देशका अस्पतालसम्म नेपाली इन्ट्राअकुलर लेन्स

  • 2022-06-15 12:42:51

काठमाडौं । नेत्र चिकित्सा क्षेत्रका खम्बा डा.सन्दुक रुइतले एक सार्वजनिक कार्यक्रममा सुनाएका थिए, “कुनै समय विदेशबाट कोही आउने थाहा पायो कि लेन्स ल्याइदिन आग्रह गर्थेँ, विविध कारणले दृष्टि गुमाएकाहरूको आँखाको ज्योति कसरी फर्काउने भन्नेमै मेरो अहोरात्र ध्यान जान्थ्यो ।” 

यो प्रसंग हो सन् १९९४ भन्दा अगाडिको, जतिबेला नेपाललाई महँगो मूल्य तिरेर अमेरिकी, जर्मन तथा अन्य देशहरूको लेन्स प्रयोग गर्नुपर्ने बाध्यता थियो । त्यसैबेला दूर दराजसम्म आँखा स्वास्थ्यको शिविर लिएर पुग्ने डा. रुइतसँगको विज्ञ टोलीले सोच बनायो ‘विदेशबाट महँगो मूल्य तिरेर खरिद गर्नुभन्दा आफ्नै देशमा लेन्स उत्पादन किन नगर्ने ?’ विज्ञहरूको अवधारणा र प्रयासले साकार रूप पाउँदै गयो र सन् १९९४ देखि तिलगंगा आँखा प्रतिष्ठानले आफ्नै ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्न सुरु गर्यो ।

के हो इन्ट्राअकुलर लेन्स ?

इन्ट्राअकुलर लेन्स मोतिबिन्दुको शल्यक्रियापछि बिरामीको आँखामा राखिने कृत्रिम लेन्स हो ।

जब मानिसको आँखामा भएको प्राकृतिक लेन्समा विभिन्न कारणले बादल लाग्दै जान्छ, यसले भित्रसम्म प्रकाश पुर्याउन सक्दैन । लेन्सबाट रेटिनासम्म प्रकाश नपुग्दा आँखामा कुनै पनि वस्तुको आकृति बन्न नसकेर आँखाले बादल लागेको जस्तो देख्नु मोतिबिन्दु भएको अवस्था हो ।

मोतिबिन्दुको उपचार शल्यक्रियामार्फत प्राकृतिक लेन्स निकाली आँखामा कृत्रिम इन्ट्राअकुलर लेन्स राखेर गरिन्छ । तिलगंगा आँखा प्रतिष्ठानले २८ वर्षदेखि यही लेन्स उत्पादन गर्दै आएको छ, जसले नेपाललाई इन्ट्राअकुलर लेन्समा आत्मनिर्भर मात्रै बनाएको छैन, विश्व बजारमा समेत नेपाली लेन्सले राम्रो स्थान लिँदै आएको छ । 

दुर्गमका शिविरदेखि विदेशका अस्पतालसम्म नेपाली लेन्स
सुरुआती चरणमा नेपालमै मोतिबिन्दुको शल्यक्रियापछि प्रयोग गर्न इन्ट्राअकुलर लेन्स उत्पादन गरेको थियो, तिलगंगा आँखा प्रतिष्ठानले । तिलगंगाले त्यो समयमा सञ्चालन गर्ने आँखाको स्वास्थ्य शिविरका लागि एउटै लेन्सको तीनदेखि ५ हजारसम्म मूल्य तिरेर विदेशबाट ल्याउनुपरेको अनुभव छ, डा. रुइतको । 

तर, अमेरिकी लेन्सको तुलनामा १८ हजारसम्म कम मूल्य पर्ने भएपछि नेपाली लेन्सले चीन र एसियाली मुलुक हुँदै अन्तर्राष्ट्रिय स्तरमा बजार लिन थाल्यो । इन्ट्राअकुलर लेन्स उत्पादनमा तिलगंगाको ‘फ्रेड हलोज आईओएल ल्याब’ जेठो मात्रै होइन, एक्लो उत्पादनकर्ता पनि हो ।

सन् २०१२ मा अष्ट्रेलियाको मेलवर्न विश्वविद्यालयले गरेको इन्ट्राअकुलर लेन्सको प्रयोगसम्बन्धी अध्ययनमा नेपाली लेन्सले अन्तर्राष्ट्रिय मापदण्डअनुसार १० मा १० अंक प्राप्त गर्यो । विकसित देशमा मेडिकल सामग्री बिक्रीका लागि अनिवार्य ‘आईएसओ १३४८५ ’, २०१६ र ‘सीई मार्किङ’को मान्यता प्राप्त गर्नुले नेपाली लेन्सप्रतिको विश्वसनीयता मात्रै बढाएन, समग्र चिकित्सा क्षेत्रलाई नै थप प्रोत्साहन गर्यो । यहाँबाट वार्षिक ३ लाख ५० हजारदेखि ४ लाखको संख्यामा उत्पादन भइरहेको बताउँछन् फ्रेड हलोज आईओएल प्रयोगशाला प्रमुख सुजन रञ्जितकार । 

उत्पादित लेन्समध्ये ५० प्रतिशत तिलंगगा आँखा प्रतिष्ठानका साथै यसअन्तरगतका १८ वटा सामुदायिक आँखा केन्द्र, तिलगंगाले बर्सेनि सञ्चालन गर्ने ४० वटा स्वास्थ्य शिविर र देशभरका अधिकांश आँखा अस्पतालमा प्रयोग हुन्छ । बाँकी ५० प्रतिशत लेन्सको सबैभन्दा ठूलो खरिदकर्ता चीन हो भने मंगोलिया, थाइल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तानलगायत मुलुकमा नियमित निर्यात हुँदै आएको छ ।

एउटा लेन्स बन्न ४५ दिनसम्म, रोबोर्टको पनि प्रयोग  
तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गरिरहेको इन्ट्राअकुलर लेन्सका विभिन्न मोडेलहरू सबै मोतिबिन्दुको शल्यक्रियापछि आँखामा राखिने लेन्स हुन् । प्राकृतिक लेन्सजस्तै गरी आँखाभित्र राख्नुपर्ने भएकाले यसको बन्ने प्रक्रिया निकै लामो हुने र धेरै चरणहरू पार गर्नुपर्ने बताउँछन् प्रयोगशालाका असिस्टेन्ट प्रोडक्सन म्यानेजर अभय श्रेष्ठ । 

लेन्स बनाउन चाहिने कच्चा पदार्थमध्ये झन्डै ८० प्रतिशत बेलायत र अमेरिका तथा अन्य युरोपियन देशहरूबाट आउँछ, प्याकेजिङमा प्रयोग हुने केही सामग्री भने नेपालमै बन्ने गरेको छ । “कटिङदेखि प्याकिङसम्म १६ वटा फरक फरक चरणमा काम गर्नुपर्छ, धेरै समय क्लिनिङमा लाग्छ, बनेपछि पनि माइक्रोबायोलोजिकल परीक्षण गरेर मात्रै प्याकिङमा जान्छ, यो सबै प्रक्रिया टुंग्याउन ४५ दिनसम्म लाग्छ” श्रेष्ठले भने । 

क्लिनिङका क्रममा एक–एक वटा लेन्सलाई लिएर काम गर्नुपर्ने भएकाले पनि धेरै समय लाग्ने उनी बताउँछन् । दैनिक १ हजार २०० को संख्यामा लेन्स उत्पादन गर्न १४ वटा मेसिन र ७० जना जनशक्ति परिचालित छन् । कम जनशक्तिमा बढी उत्पादन होस् भनेर प्रयोगशालामा दुईवटा ‘युनिभर्सल रोबोर्ट’ समेत प्रयोग गरिएको छ । 

वार्षिक ५ लाख लेन्स उत्पादन गर्ने योजना 
उत्पादनको छोटो सयममा नै अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको नेपाली इन्ट्राअकुलर लेन्स विदेशी अस्पतालहरूमा प्रयोग हुन थालेको झन्डै दुई दशक भइसकेको छ । सन् २००३ देखि अन्तर्राष्ट्रिय बजार पाएको इन्ट्राअकुलर लेन्स नेपालको आँखा उपचार सेवामा बलियो आधार साबित भएको छ  । 

सन् २०१८/०१९ ताका वार्षिक एकदेखि डेढ लाख लेन्स निर्यात भइरहेको इन्ट्राअकुलर लेन्सको उत्पादन कोभिड–१९ महामारीका कारण भने निकै प्रभावित भयो । सन् २०२१ मा प्रयोगशालाबाट २ लाख २४ हजार ८ सय मात्रै लेन्स उत्पादन भएको अस्पतालको तथ्यांक छ । सन् २०२२ यता भने लेन्स उत्पादन र निर्यातको अवस्था सुधारोन्मोख रहेको बताउँछन् प्रयोगशाला प्रमुख सुजन रञ्जितकार । 

“हामीसँग वार्षिक ५ लाख लेन्स उत्पादन गर्नसक्ने क्षमता छ, तर दक्ष जनशक्ति अहिले पनि पर्याप्त छैन । सबै कुरा भनेजस्तो हुने हो भने यही संख्यामा लेन्स उत्पादन गर्न सकिन्छ,” रञ्जितकार भन्छन् । सन् २०२२ मा नै कोभिड–१९ महामारी अगाडिको अवस्थामा फर्किने र वार्षिक ५ लाख लेन्स उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको रञ्जितकार बताउँछन् ।